केही वर्षयता प्रत्येक साता दुईवटा फिल्म एकसाथ हलमा रिलिज हुँदै आएका छन् । कतिले लगानी सुरक्षित गर्दै नाफा पनि खल्तीमा हाल्न सफल भएका छन् भने कतिले निर्मातालाई कंगाल मात्र बनाएका छन् । यसवर्षको नै कुरा गर्ने हो भने बैशाखदेखि असार दोस्रो सातासम्म झण्डै एक दर्जन नेपाली फिल्म रिलिज भैसकेका छन् तर कुनैपनि फिल्मले सन्तोषजनक व्यापार गर्न सकेनन् ।
बैशाख १ गते रिलिज भएको फिल्म ‘राधे’, ‘लभ लभ लभ’ र ‘घामपानी’ले लगानी सेभ गरेको खबर बाहिर आएपनि निर्मातालाई यसले चर्किएको घाउमा महलम लगाउने काम गरेन । ‘घामपानी’ले अन्य दुई फिल्मभन्दा केही राम्रो व्यापार गरेको भएतापनि बैशाख १ गतेका यी तीनवटा फिल्म नै असफल मानिन्छन् । त्यसपछि नेपाली हलमा रिलिज भयो दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ । ‘बाहुबली २’ ले नेपाली निर्मातालाई राहत दिने त कुरै भएन बरु नेपाल वितरणको जिम्मा पाएको गोपीकृष्ण मुभिजले भने बोराभरी पैसा बटुल्यो ।
‘बाहुबली २’ रिलिजपछि रेखा थापा स्टारर फिल्म ‘डायरी’ हलमा लाग्यो । रेखा थापा पहिलो पटक भिलेन अवतारमा प्रस्तुत भएपनि ‘डायरी’ले हलमा कमाल गरेन । अहिले फिल्मकी नायिका तथा निर्माता छुल्ठिम गुरुङ विदेश प्रदर्शनबाट लगानी सुरक्षित गर्ने दौडमा छिन् । ‘डायरी’पछि हलमा लागेको थियो नम्रता श्रेष्ठ र कोशिश क्षेत्री अभिनित फिल्म ‘पर्व’ र सोहित मानन्धर अभिनित फिल्म ‘हिटलर’ । ‘पर्व’ले प्रदर्शनको तीन दिनमा करोड व्यापार गरेको खबर बाहिर त आयो तर यसलाई धेरैले गलत रिपोर्ट माने । ‘हिटलर’ले पनि घरेलू बजारमा कमाल गरेन ।
‘हिटलर’ र ‘पर्व’पछि ‘रातो घर’ र वन सट् फिल्म ‘जालो’ रिलिज भयो । यी दुवै फिल्म पनि उठ्न नसक्ने गरि बसे । अनि हलमा लाग्यो ‘लाल्टिन’ र ‘आधा लभ’ । तर, यी दुई फिल्मले पनि कमाल गरेनन् । यसपछि ‘किडन्याप’ र ‘तारेभीर’ रिलिज भएका थिए । यी दुई फिल्ममा पनि दर्शकको खडेरी लाग्यो । ‘किडन्याप’ र ‘तारेभीर’ रिलिजको दोस्रो साता अर्थात् गएको हप्ता बलीउडस्टार सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’ रिलिज भएको थियो । यो फिल्मसँग नेपालका कुनै पनि फिल्म रिलिज भएनन् ।
नेपाली निर्मातालाई डर थियो सलमानको फिल्मसँग जुध्दा पानी पनि भन्न पाइन्न भन्ने तर ‘ट्यूबलाइट’ले नेपालमा गतिलो व्यापार गरेन । बैशाखदेखि असारको दोस्रो हप्तासम्म हेर्ने हो भने नेपाली कुनैपनि फिल्म हिट सावित हुन सकेका छैनन् ।
आज शुक्रवारबाट दुई नेपाली फिल्म रिलिज भएका छन् ‘कारखाना’ र ‘कमिना’ । अब यी दुई फिल्मले कस्तो व्यापार गर्ने हुन यो त केहीदिनमा नै थाहा हुनेछ । तर, बैशाखदेखि असारसम्म रिलिज भएका एक दर्जन बढी फिल्मले लगानीसम्म सुरक्षित गर्न नसक्दा अहिले अन्य निर्माताहरु पनि आफ्नो नयाँ फिल्म रिलिज गर्न डराइरहेको देख्न सकिन्छ । यो भन्दा सायद गलत नहोला कि यसवर्ष नेपाली फिल्मको व्यापारमा खडेरी नै लागेको छ । अब यसवर्ष रिलिज हुन लागेका केही नेपाली फिल्मले खडेरी लागेको फिल्मको व्यापारमा महलम लगाउन सक्ने चलचित्रकर्मीहरु बताउँछन् ।
( फिल्मिखबर डट कममा प्रकाशित )