शनिवार साँझ आयोजना गरिएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार –२०७३’ मा दीपकराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र ‘छक्का पन्जा’ सर्वोत्कृष्ट भएको छ । यो चलचित्रले सर्वोत्कृष्ट चलचित्र सहित सर्वोत्कृष्ट निर्देशक (दीपाश्री निरौला) को एवार्ड जित्न सफल भएको हो ।
अघिल्लो वर्ष सर्वाधिक व्यवसाय गर्न सफल ‘छक्का पञ्जा’ बाटै अभिनेत्री प्रियंका कार्कीले सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड जितिन् भने केदार घिमिरले सर्वोत्कृष्ट हाँस्य अभिनेताको एवार्ड जिते । व्यवसायिक रुपमा सफल चलचित्रको एवार्ड पनि यही चलचित्रले जित्यो । एवार्डका २१ मध्ये सर्वाधिक १५ विधामा मनोनयनमा परेको ‘छक्का पन्जा’ चार वटा एवार्डमै चित्त बुझाउनु परेको छ ।
व्यवसायिक रुपमा असफल भएपनि दोस्रो सर्वाधिक ९ विधामा मनोनित चलचित्र ‘पुरानो डुंगा’ ले पाँच विधामा एवार्ड जित्यो । उक्त चलचित्रले संगीतकार (कालीप्रसाद बासकोटा), छायांकार (शैलेन्द्र डि कार्की), पटकथा (रामबाबु गुरुङ र उपेन्द्र सुब्बा), सह–अभिनेत्री (मेनुका प्रधान) तथा सह–अभिनेता (माउत्से गुरुङ) विधामा एवार्ड जित्यो ।
कुल ११ विधामा मनोनित भएको चलचित्र ‘जात्रा’ भने तीन वटा एवार्डमा सिमित भयो । उक्त चलचित्रले सर्वोत्कृष्ट अभिनेता (विपिन कार्की), ध्वनी मुद्रण (मनोजराज भण्डारी) तथा सम्पादन (मित्र गुरुङ) को एवार्ड पायो ।
बौद्धस्थित ह्यात होटलमा सम्पन्न एवार्ड वितरण समारोहमा अभिनेत्री मनिषा कोइरालाल प्रमुख अतिथि बनिन् । विभिन्न कलाकारहरुले आकर्षक नृत्य प्रदर्शन गरेको समारोह झन्डै तीन घण्टा चलेको थियो ।
समारोहमा चलचित्र चपली हाइट–२ का आयुष्मान देशराज जोशीले नव–अभिनेताको एवार्ड जिते भने गाजलु चलचित्रबाट सृष्टि श्रेष्ठले नव अभिनेत्रीको एवार्ड पाइन् । गायिका मीना निरौलाले ‘लुट–२’ को ‘ठमेल बजार…’ गीतका लागि सर्वोत्कृष्ट पाश्र्व गायनको एवार्ड जितिन् भने यही गीतबाट विक्रम स्वाँरले सर्वोत्कृष्ट नृत्य निर्देशकको एवार्ड जिते । चलचित्र ‘किङ’ का लागि रोशन श्रेष्ठले सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको एवार्ड पाए । ईमान विक्रम शाहले चलचित्र ‘चपली हाइट–२’ का लागि सर्वोत्कृष्ट पाश्र्व संगीतको एवार्ड जिते ।
समारोहमा चलचित्र ‘डाइङ क्यान्डल’ ले ५ हजार रुपैयाँ राशीको ‘मह जुरी राष्ट्रिय पुरस्कार’ पायो भने ‘छक्का पन्जा’ले ५ हजार नगद राशीको ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्रको’ को पुरस्कार पायो । कान्तिपुर दैनिकका पत्रकार सुशिल पौडेललाई ५ हजार नगद राशीसहित पत्रकारिता पुरस्कार प्रदान गरियो ।