News

प्रधानमन्त्रीको प्रत्युत्पादक दम्भ !

Plus977

स्विटजरल्यान्डको डावोसबाट फर्कने क्रममा प्रधानमन्त्री केपी ओलीले विपक्षको आन्दोलनको घोषणा, देशका ठूला सरकारी अस्पतालका आवासीय चिकित्सकहरूको आन्दोलन र सत्याग्रही प्राध्यापक डा. गोविन्द केसीको जीवन संकटमा परेको घटनालाई पनि साधारण असन्तुष्टिको संज्ञा दिए । विपक्षको आन्दोलनलाई राजनीतिक ‘नौटंकी’ भनेर बेवास्ता गर्ने वा महत्त्व दिने राजनीतिक संस्कारसँग जोडिएको विषय हो । लोकतन्त्रवादीले विपक्षलाई निषेध गर्दैनन् भने अधिनायकवादीहरू विपक्षको अस्तित्व स्वीकार्न तयार हुँदैनन् । विपक्षको आन्दोलनलाई बेवास्ता गरे पनि  डा. केसीको अनशन र चिकित्सकको आन्दोलन भने बेवास्ता गर्न मिल्ने सामान्य विषय हैनन् । प्राध्यपक डा. गोविन्द केसीको सोह्रौं अनशन उन्नाइसौं दिन पुगेको छ । उनको जीवन संकटमा छ । आफूसँग प्रधानमन्त्री ओलीले गरेका सम्झौताअनुरूप चिकित्सा शिक्षा विधेयक सच्याउने कार्य नहुँदासम्म सत्याग्रह स्थगित नगर्ने घोषणा उनले गरेका छन् । त्यतिमात्र हैन डा. केसीले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्ने धारणासमेत प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले भने यसलाई यसलाई साधारण लोकतान्त्रिक अभ्यासमात्र भने । उनको अभिव्यक्तिले देशभित्र सबै सहज भएजस्तो भान पार्न खोजेको देखियो ।

प्रधानमन्त्री ओलीले भनेजस्तो देशमा केही दिन यता भएका घटनालाई लोकतन्त्रमा हुने साधारण असन्तुष्टिमात्र ठान्नु मूर्खता हुन्छ । यद्यपि, शासकहरूमा भने आफ्ना विरुद्ध भएका वा आफूलाई मन नपर्ने सबै घटना महत्त्वहीन लाग्छन् । उच्च राजनीतिक संस्कार भएकाबाहेक अरू शासकले विपक्षीलाई प्रायः हेप्ने र होच्याउने गर्छन् । राजा वीरेन्द्रले बीपी कोइरालाको मृत्युमा शोक सन्देश दिँदा कुनै पनि नेपाली मर्दा आफूलाई दुःख लाग्ने भनेर बीपीलाई होच्याउन खोजेका थिए । त्यस वाक्यले बीपीको हैन राजा वीरेन्द्रकै कद घटाएको थियो । चिकित्सा शिक्षामा सुधारको माग राखेर सोह्रपटकसम्म अनशन गर्ने तपस्वी प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा र उनीसँग आफूले गरेको सम्झौताको आफ्नै पार्टीका सदस्यहरूले गरेको अवज्ञालाई तीन करोड मान्छेका केही असन्तुष्टिको संज्ञा दिएर प्रधानमन्त्री ओलीले पनि सत्ताको दम्भको प्रकट गरेका छन् । यस दम्भले डा. केसीको हैन प्रधानमन्त्रीकै कद होँचो बनाएको छ ।

देशको प्रधानमन्त्री रहँदासम्म उनी व्यक्तिका साथै संस्था पनि हुन् । यसैले उनका अभिव्यक्तिले देशकै छविमा प्रभाव पार्छ । डावोसको भाषणमा उनको प्रस्तुतिले देशको इज्जत बढाएको मानिएको थियो भने शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले प्रदर्शन गरेको दम्भले देशलाई थप संकटतर्फ धकेल्ने लक्षण देखाएको छ । विशेषगरी डा. केसीको अनशनलाई तीन करोड जनसंख्याको अलिअलि असन्तुष्टिसँग दाँज्नु अहंकारको चरमसीमा हो । यसअघि नै शिक्षामन्त्रीले डा. केसीको जीवन रक्षाका लागि सम्झौता नगर्ने धारणा सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पनि सरकार डा. केसीको जीवन रक्षाप्रति गम्भीर नभएको पुष्टि भएको छ । उनीहरको अभिव्यक्तिले त सत्याग्रहीको प्राण रक्षाका लागि वार्ता गर्न पनि तयार नहुने हो कि भन्ने सन्देह उत्पन्न गराएको छ ।

नेपाली कांग्रेसको आन्दोलनले सामान्य जनतालाई खासै प्रभाव पार्न र आकर्षण गर्न पनि नसक्ला । त्यसलाई प्रधानमन्त्रीले सामान्य विरोध ठाने भने आश्चर्य वा आपत्ति मान्नु आवश्यक छैन । परन्तु, आवासीय चिकित्सकहरूको आन्दोलन चक्र्यो भने देशको स्वास्थ्य सेवा नै ठप्प हुनसक्छ । डा. केसीको जीवन तलमाथि भयो भने त्यसपछि अकल्पनीय अवस्था उत्पन्न हुन पनि सक्छ । यसैले देशको स्थिति प्रधानमन्त्रीले भनेजस्तो साधारण छैन । बरु, निकै गम्भीर छ । अतः प्रधानमन्त्री ओली व्यक्तिगत अहंकार त्यागेर सकेसम्म चाँडै डा. केसीको जीवन रक्षाका लागि गम्भीर हुनु आवश्यक छ । देशमा अप्रिय स्थिति उत्पन्न भए अरू त सबै धमिलो पानीमा माछा मार्न तम्सनेछन् । तर, प्रधानमन्त्री ओलीले भने सबै कलंक बेहोर्नु पर्नेछ । र, देशलाई पनि अहिले चर्को उथलपुथल धान्न कठिन हुनेछ । सबैलाई चेतना भया !

Source: 12khari.com

Advertisement