News

प्रेमा शाह युगको अन्त्य !

977online

गोबिन्द गिरी ” प्रेरणा ”
हाल: अमेरिका

प्रेम र यौनलाई अङ्गिकार गरी वीसको दशकमा नेपाली साहित्यमा यौटा नयाँ युगको शुरुवात गर्ने प्रख्यात साहित्यकार प्रेमा शाहको २० डिसेम्वरका दिन अमेरिकाको युटाह राज्यको साल्ट लेकस्थित इन्टर माउण्टेन अस्पतालमा निधन भयो ।
वि.सं. २००३ साल असार  २५ गते वीरगञ्जमा जन्मेकी प्रेमा शाह २०१६ सालमा शारदा पत्रिकामा प्रतिकृया शिर्षकको कथा लिएर नेपाली साहित्यमा प्रवेश गरेकी थिईन् ।
लेखनको शुरुवात कालमा कथा र कविता दुवै विधामा कलम चलाउने प्रेमाले कथामा वढी झुकाव राखिन् र पहेंलो गुलाफ कथाको प्रकाशनपश्चात नेपाली साहित्यमा त्यसले खल्वली नै मच्चाएको थियो र वि.सं.२०२३ सालमा पहेंलो गुलाफ शिर्षकमै ८ कथाको सङ्ग्रह रत्न पुस्तक भण्डारवाट प्रकाशन भयो र २०२८ सालमा अरु १० कथाहरुको सङ्ग्रह विषयान्तर पनि रत्न पुस्तकवाटै प्रकाशन भयो ।
यसै वीच नेपाली साहित्यमा पहिलोपल्ट सामुहिक लेखनवाट प्रयोगात्मक रुपमा लेखिएको उपन्यास आकाश विभाजित छ मा समेत प्रेमाको सहभागिता रहेको थियो ।
त्यसपछि लामै समय आफ्नो नीजि वैवाहिक जीवनको उतार चडावसँगै उनको लेखनले गति लिन सकेन र झण्डै एक दशक सकृय लेखनवाट टाढा रहिन् ।
वि.सं. २०४० मा सानो कायाको मम्मी लघु उपन्यास लिएर उनको पुनरागमन भयो र यही कृतिनै उनको जीवनकालको अन्तिम कृति(वयस्क साहित्यमा) सावित हुन पुग्यो ।
यो वेग्लै कुरा हो, उनका यी तीनवटै पुस्तकका प्रकाशक रत्न पुस्तकले वि.सं. २०६७ सालमै यी तीनवटै कृतिलाई पहेंलो गुलाफ शिर्षकमा एउटै पुस्तकको रुपमा प्रकाशनमा ल्यायो ।

वयस्क लेखनमा पूर्ण विराम लागेको देखिए पनि यस वीचमा उनले वाल साहित्यमा उल्लेख्य कृतिहरु दिएर योगदान दिइन् । उनका आनन्दको आविष्कार, वाल गीत, इन्द्रधनुष, मण्टुकि वज्यैको कथाको पेटारो, मनु र भङ्गेरा, रामेको कथा, राम्रो काम लगायत वाल साहित्यका कृतिहरु प्रकाशित भए मात्र होईन अत्यधिक रुचाइए पनि ।
उनकी एकमात्र सन्तान छोरी जल शाहले आफ्नो अभिनय यात्रलाई विश्राम दिएर अमेरिकामा स्थायी रुपले वस्न थालेपछि उनी कहिलेकाहीं नेपाल गए पनि जीवनको पछिल्लो समय छोरी जुवाईं र नातीनीको साथमा युटाह राज्यमा वस्दै आएकी थिइन् र सामाजिक सञ्जालमा समेत सकृय थिइन् । उनले गत शनिवार अन्तिम पल्ट छोरीलाई जन्मदिनको शुभकामना दिएर यस्तो स्टाटस लेखेकी थिइन् ।
” फोटोमा हामी त्यती धेरै सङै आउदैनौ तर हामी आ आफ्नो मनमा तस्बिर सरह कहिल्यै नमेटिइने गरी टासिएर बसेका छौ । मान्छेलाई हामी आमा छोरीको कहिल्यै देखी डाहा लागेको छ त्यो डाहाले अक्चम्मित तुल्याएको छ । सबैको आमा छोरीमा हाम्रो जस्तै कहिल्यै नमेटिने माया गहिरिदै जावोस , Happy Belated Birthday 🎂 छोरी ”

त्यस अघि नातिनीको परम्परागत समारोहमा सँलग्न भएको फोटो र पोष्टिङ् राखेकी थिइन् । ” म कती भाज्ञमानी मेरो प्यारो नातीनिको खुट्टा धुन पाए ! चिरन्जिबी भए बाबु । ”

२०६९ साल असारमा नेपालको साझा प्रकाशनवाट प्रकाशित हुने गरिमा पत्रकाको नारी : अस्तित्व र अस्मिता विशेषाङ्कमा उनलाई विशेष रुपमा प्रस्तुत गरिएको थियो । त्यसमा साहित्यकार गोविन्द गिरी प्रेरणाले लिनुभएको पहिलो महत्वपूर्ण लामो अन्तरवार्ता प्रकाशित भएको थियो । त्यसमा उनले आफ्नो आत्मकथा कुनै न कुनै रुपमा लेख्ने जीवनको महत्वाकाँक्षा भएको वताएकी थिइन् ।

प्रेमा शाहको निधनसँगै उनले निर्माण गरेको यौटा युगको अन्त्य भएको छ ।

( अमेरिकाको युटा स्टेटमा नेपाली रास्ट्रीय झन्डा ओढाएर उहाको अन्तिम सस्कार गरिएको थियो भने पार्थिब शरीरमा छोरी जल शाहले दागबत्ती दिएकी थिइन । )977online

Advertisement