News

१ करोडको ‘नाइनलको साडी’

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा २’ को ‘नाइनलको साडी’ बोलको गीतको भिडियोले युट्युबमा करोड भ्यू पाएको छ । संगीतकार अल्मोडा उप्रेतीलाई यो गीतको संगीत चोरेको आरोप लागेको थियो । निकै विवादमा तानिएको यो गीतले मंगलवार बिहान १ करोड बढी भ्यू पाएका हो । ५४ हजार लाइक मिलेको गीतको भिडियोलाई ८ हजारले डिसलाइक गरेका छन् ।
यसअघि दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको फिल्ममा समावेश ‘पूर्व पश्चिम रेल’ र ‘सुर्के थैली’ले पनि युट्युबमा करोड भ्यू पाएका छन् । ‘नाइनलको साडी’लाई दीपकराज गिरी र प्रिन्सले संयुक्त रूपमा लेखेका हुन् भने संगीत प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीले दिएका हुन्। अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको गीतमा स्वस्तिमासँगै वर्षा राउत, केदार घिमिरे, जितु नेपाल र स्वरूपपुरुष ढकालले अभिनय गरेका छन्।
असोज ११ गतेबाट गएको वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ प्रदर्शनमा आउँदैछ । अहिले निर्माण टिम मोफसल टुरमा छ । ‘नाइनलको साडी’ले युट्युबमा करोड भ्यू पाएपछि दीपक-दीपाले सम्पूर्ण दर्शकलाई धन्यवाद व्यक्त गरेका छन् । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्ममा लिड कलाकारको रुपमा रहेका छन् ।

Advertisement