प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन हुने विश्वास दिलाउँदै निर्वाचनमा सहभागी हुन राजपा नेपाललाई आग्रह गरेका छन् ।
व्यवस्थापिका–संसद्को बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । “मधेसी जनताको भावनाअनुसार संविधान संशोधन आवश्यक छ,” प्रधानमन्त्री देउवाले भने, “त्यो गर्नु पनि पर्छ । तर दोस्रो चरणको निर्वाचनपछि यो संविधान संशोधन गरेर जानुपर्छ । मधेस केन्द्रीत दल र हामीले चाहँदा चाहँदै पनि हुन सकेन । विपक्षी दलले पनि त्यसबेला सहयोग गर्नेछ । अहिलेको चुनावमा भाग लिएर अघि बढौं ।” उनले संविधान संशोधन विधेयक संसद्बाट फेल गराउन उचित नहुने पनि धारणा राखे ।
“संशोधन पारित हुने अवस्था नदेखिँदा फेल गराउन उचित हुँदैन,” उनले भने, “मधेस केन्द्रीत दलहरुलाई पनि दोस्रो चरणको चुनावपछि संशोधन हुने विश्वास दिलाउन चाहन्छु ।”
उनले समयमै ३ वटा निर्वाचन गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँडाउनुपर्ने बताउँदै भने,“३ वटा निर्वाचन गर्नुछ । त्यसपछि देश एउटा संघीय गणतान्त्रिक लोकतन्त्रमा जानेछ । त्यसपछि जनताको इच्छाअनुसार सरकार बन्ने अवस्था आउँछ । प्रजातन्त्र कसैले खोस्न सक्नेछैन । ‘कु’ भएर प्रधानमन्त्री हट्ने र संसद् भंग गर्ने दिन नआओस् । त्यसका लागि तीनवटा चुनाव हुन जरुरी छ ।” उनले संविधानको सर्वस्वीकार्यताको लागि पनि चुनावमा जानुपर्ने बताए ।
“स्थानीय निकायको दोस्रो चरणको चुनाव सकिनासाथ विपक्षी दलका नेताहरुसँग कुरा गरेर संविधान संशोधन गरिनेछ,” देउवाले भने ।
उनले प्रतिपक्ष दलले उठाउँदै आएको भरतपुरको मतगणनाका बारेमा पनि आफ्नो धारणा व्यक्त गरे । “मत च्यातिएको भरतपुरको मात्रै पहिलो होइन,” उनले भने, “अदालतमा मुद्दा भएको कुरालाई नउचालौं । मत च्यातिएको कुरा कसैले राम्रो भनेको छैन । पहिले पनि मत विभिन्न ठाउँमा च्यातिएका छन् ।”
उनले पहिलो संविधानसभाको चुनावपछि गिरिजाबाबुलाई राष्ट्रपति बनाउने सहमतिबाट पछि हटेकाले देश बहुमतीय प्रक्रियामा प्रवेश गरेको बताए । नेकपा एमालेका नेता सुवास नेम्वाङले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, “एउटा कुरा सबैलाई थाहा छ । राष्ट्रपतिको बारेमा कुरा उठेकै हो । गिरिजाबाबुले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर चुनाव गराउनुभयो । सबैले गिरिजाबाबुलाई राष्ट्रपतिमा सहयोग गर्नुहोला भन्ने आशा थियो तर त्यो भएन । त्यसबारेमा धेरै कुरा गर्न चाहन्नँ । सहमतिको सरकार बन्ने वातावरण त्यहीँबाट नबनेको हो । माधव नेपालजीलाई हामीले सहयोग गरेकै हो ।”
उनले विपक्षीविहीन संसद् बन्न नसक्ने बताए । “प्रतिपक्ष छाया सरकार नै हो,” उनले भने, “यसलाई त्यही संस्कृतिमै लैजाउँ । विपक्षविहीन संसद् बनाउने हो भने पनि हुन्छ । त्यसबारेमा सोच्न मिल्दैन ।” “४० वटा प्रधानमन्त्री भएको देश भनिन्छ,” उनले भने, “यसमा शेरबहादुरको मात्रै दोष त छैन होला ।
‘कु’ मार्फत प्रधानमन्त्री हट्ने र संसद् भंग गर्ने दिन नआओस्’
