National News

नेपालको ऐतिहासिक जित,पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला

काठमाडौं । कप्तान पारस खड्काकाे शतकप्रेरित नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ४ विकेटको विजय हासिल गरेको छ । जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ ।

फितलो ब्याटिङका कारण पहिलो खेल ३ विकेट गुमाए पनि नेपालले बाँकी दुई खेलमा उत्कृष्ट पूनरागमन गरेको थियो । दोस्रो खेल १ सय ४५ रनले जितेको नेपालले अन्तिम तथा निर्णायक खेलमा ४ विकेटको विजय हासिल गरेको हो ।

दुबईस्थित आइसीसी एकेडेमी ओभलमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । घरेलु टोली यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । नेपालका कप्तान पारसले १ सय १५ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले १/१ को बराबरी खेलेको थियो  ।

Plus977एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का हान्दै १ सय १५ रन बनाए । पारसले ३४.३ ओभरमा इमरान हैदरको बलमा चौका हान्दै शतक पूरा गरेका हुन् । उनले शतक पूरा गर्ने क्रममा ९६ बलमा १३ चौका र १ छक्का हाने । पारसले यसअघि नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पूरा गरेका थिए । पारसले लिस्ट ‘ए’ क्रिकेटमा पनि २ शतक पूरा गरिसकेका छन् ।

ओपनर विनोद भन्डारी ९ रन बनाएर पवेलियन फर्किएपछि क्रिजमा आएका पारसले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि १७ रनको साझेदारी गरेका पारसले राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्दीप जोरासँग चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । त्यसपछि पारसले रोहितकुमार पौडेलसँग पाँचांैं विकेटका लागि ५४ रनको साझेदारी गरे ।

कादीर अहमदको बलमा एलबिडब्लू आउट हुनुअघि पारसले आरिफ शेखसँग छैटौं विकटका लागि ३२ रनको साझेदारी गरेका थिए । १९–१ को अवस्थामा क्रिजमा गएका पारस पवेलियन फर्किदा नेपाल २१५–६ को अवस्थामा थियो ।

त्यसपछि आरिफ र सोमपाल कामीले ३९ रनको साझेदारी गर्दै नेपाललाई ४ विकेटको जित दिलाए । अरिफ २१ र सोमपाल २६ रनमा अविजित रहे । पारसबाहेक नेपालका ज्ञानेन्द्र मल्लले ३१, सन्दीप जोरा १९, रोहितकुमारले १६ रन बनाए ।

यूएईका इमरान हैदर र अशफाक अहमदले समान २ विकेट लिँदा मोहम्मद नाभीद र कादीर अहमदको नाममा १/१ विकेट लिए ।

त्यसअघि अन्तिम दश ओभरमा १ सय १४ रन जोडेपछि यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

छैटौं ओभर सकिँदा २–२ को अवस्थामा रहेको युएईका गुलाम शब्बर र मुहम्मद उस्मानले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । त्यसपछि शाइमन अनवर र सीपी रिजवानले पाँचौं विकेटका लागि १ सय रनको साझेदारी गरेपछि यूएई सम्मानजनक योगफल तर्फ लम्किएको थियो । ७० बलमा ९ चौका र २ छक्कासहित ८७ रन बनाएका अनवरले मोहम्मद बूतासँग छैटौं विकेटका लागि८० रनको साझेदारी गरे । अनवर आउट हुँदा यूएई २२७–६ को अवस्थामा थियो । त्यसपछि आक्रमक ब्याटिङ गरेका बूताले ३१ बलमा ५ चौका र ४ छक्का हान्दै अविजित ५९ रन बनाए । उनले कप्तान मोहम्मद नाभीदसँग २७ रनको अविजित साझेदारी गरेका थिए ।
नेपालका पारस खड्काले र करण केसीले समान २ विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।

Advertisement