सेतोपाटीमा श्रावण २ गते प्रकाशित प्रकाश ढुंगानाको ब्लगबाट
अनैतिक गतिविधि गरेको आरोपमा प्रहरीले हालै बौद्ध, सोह्रखुट्टे, क्षेत्रपाटीलगायत स्थानका दस वटा स्पा सेन्टरमा छापा मारेर त्यस्ता केन्द्र बन्द गराएको छ।
क्षेत्रपाटीका दुई र सोह्रखुट्टेको एक खाजा घरमा किशोरी राखेर अनैतिक काम भएको भन्दै प्रहरीले छापा मारी चार जना किशोरीलाई नियन्त्रणमा लिएको थियो।
खाजा घरका तीन जना सञ्चालकलाई मुद्दा चलाइएको सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। हिजोआज गेष्टहाउस, क्याबिन रेष्टुराँमा १८ वर्षमुनिका बालिका राखेर अनैतिक काम गराइने गरेको प्रहरीको दाबी छ।
ठमेल र गोंगबु बसपार्क क्षेत्रमा १२ सयभन्दा बढी गेष्ट हाउसहरु छन्। यीमध्ये कतिपयमा अनैतिक काम हुने गरेको दाबी प्रहरीले गरेको छ। अनैतिक काममा पछिल्लो समय सोझासादा युवतीलाई फँसाइने गरेको प्रहरीको भनाइ छ।
उपत्यकामा पहिलेदेखि अनैतिक काम गरिरहेका युवतीले गाउँबाट किशोरी सहर ल्याउने गरेका छन्। ठमेलको एक मसाज तथा स्पामा काम गरिरहेकी धादिङकी १५ वर्षीया किशोरीले बाध्य भएर आफू अनैतिक काममा लागेको बताइन्।
‘बुबा मिर्गौलाको बिरामी भएकाले डायलासिस गर्न महिनामा ५० हजारभन्दा बढी लाग्छ,’ उनले भनिन्, ‘रकमको जोहो गर्न यस्तो पेशामा लागेकी छु।’
अरु ठाउँमा काम गर्दा थोरै पैसा भएपछि साथीको सहयोगमा मसाज एण्ड स्पामा आएको उनले बताइन्। स्पामा काम गर्दा तुलनात्मक रुपमा बढी पैसा हुने उनको अनुभव छ।
सरोकारवालाका अनुसार गरिबी र बेरोजगारी समस्याले किशोरी यस्तो धन्दामा आइपुग्छन्। विश्वास नेपालकी बालकुमारी आलेले डान्सबार, दोहरीसाँझ, रेष्टुरेन्ट,मसाज पार्लर, स्पा, गेष्टहाउसमा किशोरीमाथि यौनशोषण भइरहेको दाबी गरिन्।
विश्वास नेपालले अहिलेसम्म तीन हजारभन्दा बढी डान्स दोहरी, क्याबिन रेष्टुराँको अनुगमन गरिरहेको छ। यी क्षेत्रमा काम गर्ने युवती साहुबाटै शोषित हुने गरेको आलेको दाबी छ। किशोरीहरुको सुरक्षाका निम्ति नीतिगत तहमै चासो राखिनुपर्ने उनको बुझाइ छ।
शक्ति समूहकी सुनिता दनुवारले डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहरी साँझ, गेष्ट हाउस, मसाज एण्ड स्पामा किशोरीमाथि यौनशोषण डरलाग्दो रुपमा फैलिरहेको बताइन्।
यस्तो पेशामा पुगेका किशोरीलाई क्षमताका आधारमा आय-आर्जनमा लगाउने वातावरण सिर्जना गर्नुपर्ने उनले धारणा राखिन्।
टिडिएचका चाइल्ड प्रोटेक्सन प्रोग्राम कोअर्डिनेटर जीएम श्रेष्ठले आफूहरुले डान्सबार, रेष्टुरेन्ट, क्याविन, दोहरी साँझ गेष्टहाउस, मसाजबाट १२ सय बालिकालाई उद्धार गरेको बताए।
श्रमजीवी महिलाहरुप्रति डान्स, रेष्टुरेन्ट, बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रणका लागि सर्वोच्च अदालतले २०६५ सालमा जारी गरेको निर्देशिका पूर्ण रुपमा कार्यान्वयन गराउन सके धेरै सहज हुने सरोकारवालाको भनाइ छ।
निर्देशिका बनेको तर कार्यान्वयनमा नआएका कारण समस्या भएको उनीहरु बताउँछन्। निर्देशिकामा पारिश्रमिक नदिई काममा लगाउन नपाइने, यौन उत्पीडन हुन नदिने, यौनशोषण गर्न नपाइनेजस्ता बुँदा छन्।