– दुर्गा दाहाल,
“ अनुभव “ क्यालिफोर्निया
अहिले नेपालका पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराई अमेरिकाको भ्रमणमा छन ! उहाँलाई स्वागत गर्नु पर्ने हो अथवा तिरस्कार गर्नु पर्ने हो भन्ने सम्बन्धमा धेरै तर्क वितर्क हुँदै गर्दा कतिपय राज्य हरूमा उहाँको आगमनको विरोधमा कालो झण्डाहरू पनि देखाईयो !
अमेरिकामा उहाँलाई स्वागत अथवा विरोध गरिरहनु पर्ने तर्कमा म कुनै तुक देख्तिन ! तर बाटोनै छेक्नु पनि पर्दैन होला !
निःसन्देह बाबुराम विद्वान हुँदाहँदै पनि ज्ञानी मूर्ख हुन ! माओवादीको तथाकथित जनयुद्धमा ( जहाँ हिंसा, आतंक, बलात्कार र पापजन्य जघन्य अपराधहरू भए ) धन, जन र वतन विरोधी अमानवीय कार्यहरूको हिसाब- किताब उहाँले बुझाउनै पर्छ ! केवल उहाँले मात्रै हैन; प्रचण्ड लगायत उहाँहरूका सारथी हरूले पनि यस्को ज़िम्मेवारी लिनु पर्छ र जवाफ दिनु पर्छ !
बाबुराम हिंसावादी र जनविरोधी नेता थिए ! उहाँले आफ्नो विद्वता, ज्ञान र प्रतिभालाई सही दिशामा निर्देशित गर्न नसकेकाले आज कलंकित हुन पुगेका हुन ! उहाँका जनविरोधी हिंसात्मक कार्यहरू अक्षम्य छन !
तर, यति हुँदाहुँदै पनि उनी नेपालका पूर्व अर्थमंत्री र प्रधानमंत्री समेत हुन ! अर्थमंत्री हुँदा सबैभन्दा धेरै राजस्व संकलन गर्ने व्यक्ति पनि उनै हुन ! प्रधानमंत्री हुँदा पनि कतिपय उल्लेखनीय र प्रशंसनीय काम गरेका थिए !
बाबुरामको विगत हामीले देख्यौँ ! वर्तमान संदिग्ध र रहस्यमय छ ! भविष्य गर्भमा छ ! बाबुरामले अनेकौँ परीक्षाहरू दिन बाँकीनै छ !
हामी संसारकै अत्यधिक मानव अधिकार भएको राष्ट्र अमेरिकामा छौँ ! विधिको शासन मान्ने हरूले विधिवत ढंगले सबै समस्या हरूको समाधान खोज्नु पर्छ !
हिंसाको समाधान हिंसाबाटै खोजिनु हुन्न ! पापी हरूलाई प्रायश्चित गर्ने मौका पनि दिनु पर्छ ! ग़लत बाटोमा हिँडेका दिग्भ्रमित पथिक हरूलाई संवाद र सल्लाह द्वारा “U TURN” गराउन पनि सक्नु पर्छ !
संभवत: बाबुरामलाई विगत प्रति आत्मग्लानि भएको पनि हुनु पर्छ ! तर, उहाँले सार्वजनिक रूपमा आफना कुकृत्य हरूप्रति आत्म- आलोचना गर्नु पर्छ !
रत्नाकर डाकू पनि बाल्मिकी भएका थिए ! बाबुराम पनि “राम “भएर आफ्नो भविष्य सजाउने हुन कि जनता र राष्ट्रको ख़ातिर ? आशा गर्न सकिन्छ तर भर पर्न कठिन छ !
उहाँको कुरा सुन्नु पर्छ ! बोल्न दिनु पर्छ ! उहाँको भावी योजनाहरू के कस्ता रहेछन ! यो भ्रमणको उद्देश्य के रहेछ सोध्नु पर्छ ! सामाजिक र राजनैतिक सहिष्णुता पनि प्रजातन्त्रको एउटा महत्वपूर्ण पक्ष हो ! संवाद गर्नु पर्छ !
बाबुरामको युद्धकालीन इतिहासको समीक्षा र मूल्याँकन जनताबाटै हुनु पर्छ !
( बाबुरामसंग पंक्तिकारको व्यक्तिगत चिनजान र समर्थन छैन ! )