प्रमिता ढकाल, चितवन, नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्यबारे जानकारी तथा अध्ययन / अनुसन्धानका लागि संग्रहालय निर्माण गरिने भएको छ । शैलजा आचार्य स्मृति प्रतिष्ठानले उनको स्मृतिमा संग्रहालय निर्माण गर्ने भएको हो । प्रतिष्ठानको सम्पन्न दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनको क्रममा प्रतिष्ठानकी संस्थापक अध्यक्ष उमा रेग्मीले यस्तो उद्घोष गरेकी हुन् । नेपाली महिला नेतृको केही सशक्त नाम मध्ये अग्रस्थानमा शैलजाको नाम रहेको भन्दै उनको अस्तित्व भावी पुस्ता सम्म जीवित राख्न आवश्यक रहेको अध्यक्ष रेग्मीले बताइन् । संग्रहालय निर्माण गर्न हाल जग्गा व्यवस्थापनको पहल भइरहेको उनले जानकारी गराइन् ।संस्था लाई दाताबाट प्राप्त जग्गामा केही विवाद रहेकाले उपयुक्त स्थानमा जग्गाको खोजी भइरहेको उनको भनाई थियो ।
ई.सं. १९४४ मे ८ मा मोरङ जिल्लाको बिराटनगरमा जन्मिएकी आचार्यले किशोरावस्था देखि नै राजनितिक यात्रा सुरु गरी महिला नेतृत्वको कौशल देखाएकी थिइन् । १६ पुस २०३३ मा बी.पी. कोईरालाको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै नेपाल फर्कने केही व्यक्तिमा शैलजा पनि एक हुन् । वि.सं. २०१७ सालमा राजा महेन्द्रलाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताएकी आचार्य वि.सं. २०४८ सालको आम निर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई करीब १ वर्ष कृषि, वन तथा भूसंरक्षण मन्त्री रहेकी थिइन् । भ्रष्टाचारको विरोध गर्दा पदबाट राजिनामा दिन बाध्य पारिएको उनको स्वच्छ राजनितिक छवी सबैको लागि प्रेरणाका रुपमा रहेको रेग्मीले जोड दिइन् । अविवाहित रहेर राजनितिक संघर्ष गरेकी आचार्यको साहस, धैर्य र त्यागको कदर गर्न आवश्यक रहेको प्रतिष्ठानकी संस्थापक अध्यक्ष रेग्मीले बताइन् । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष गौरी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिष्ठानलाई सुरुवाती अवस्थामा संस्कृती तथा पर्यटन मन्त्रालयबाट प्राप्त बजेट बाहेक आजिवन सदस्यहरुबाट संकलित रकम नै मुख्य स्रोतका रुपमा रहेको उनले बताइन् ।यस्तै सचिव पार्वती शाहले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठान स्थापनाको दुई वर्षमा ५ निर्वाचन क्षेत्रमा गरीएको कामबारे जानकारी गराइन् । विभिन्न ६ स्थानमा महिला नेतृत्व विकास तालिम सञ्चालन गरी ६ सय जनालाई नेतृत्व कौशता प्रदान गरीएको उनले बताइन् ।
कार्यक्रममा संस्थापक सदस्य छलीकुमारी शर्मा, पदम प्रसाद रेग्मी, जानकी पौडेल सापकोटा लगायतले शैलजा आचार्यको नेतृत्व शैली र उनको इतिहास भावि पुस्तासम्म पु¥याउन प्रतिष्ठानलाई सक्रिय बनाइ राख्न जरुरी रहेको बताए । यस बीच प्रतिष्ठानको सम्पन्न अधिवेसनले पुनः उमा रेग्मीलाई अध्यक्षको जिम्मेवारी सुम्पेको छ । नवगठित समितिको उपाध्यक्षमा विष्णुमाया पौडेल र पार्वती शाह, सचिवमा तारा गुरुङ, सहसचिवमा विनु रायमाझी पौडेल र कोषध्यक्षमा गौरी अधिकारी रहेका छन् । ७ जना संस्थापक सदस्यबाट सुरु भएको प्रतिष्ठान अब २१ सदस्यीय सञ्चालक समितिले परिचालन गरिने सचिव तारा गुरुङले जानकारी दिइन् । २०७१ सालमा स्थापना भएको प्रतिष्ठानको हाल ४८ जना आजीवन सदस्य रहेका छन् ।