सगूनले हाल जारी गरेको शेयर खरिद गर्ने अन्तिम मिति मार्च ३०, २०१७ को मध्यराती (न्युयोर्क समय) सम्म बढाएको छ । सो समयलाई आधार मान्दा जुन देशमा जुन समय भएको हुन्छ सोहि समय सम्म आवेदन गर्न सकिने सगूनले बताएको छ । त्यस्तै अन्तिम मिती सम्म फर्म भरिसकेका व्यक्तिहरुले फाराम भरेको ७२ घण्टा सम्ममा आफ्नो वैक मार्फत रकम पठाउन सक्छन्।
सगूनका सहसंस्थापक कविन्द्र सिटौलाका अनुसार यस पछिको सगूनको शेयर विक्रीको काम अमेरिकाको बुस्टेड सेक्युरिटिज एलएलसीले गर्ने छ जसको यस क्षेत्रमा एक सय वर्ष भन्दा बढिको अनुभव रहेको छ । सो ब्रोकर कम्पनीले संस्थागत लगानीकर्ताहरुलाई शेयर विक्री गर्नेछ।
सिटौलाले दिएको जानकारी अनुसार हाल विभिन्न देशहरुमा आफ्ना प्रतिनिधिहरु राखि सगूनको अवसर र लगानी सम्वन्धी जानकारी दिने काम गरिरहेको छ । उनका अनुसार क्यानडामा सुरेन उप्रेती, अष्ट्रेलियामा खेमराज पंगेनी, बेलायतमा युव सेढाँइ, युरोपमा सन्तोष घिमिरे तथा एशियामा के.पी. सिटौला सगूनका प्रतिनिधि रहेका छन्।
एकातिर सगूनले प्रतिनिधि नै खटाएर नेपाली समुदायमा प्रचारप्रसार गरिरहेको छ भने अर्कातिर
सगूनका संस्थापक गोविन्द गिरीले फेसबुक प्रत्यक्ष प्रशारणको क्रममा भनेका थिए – ‘अमेरिकी इतिहासको ८० वर्षमा सामाजिक सञ्जालको स्टार्टअप कम्पनीमा लगानी गर्ने अवसर सगूनले ल्याएको छ । र नेपालीले स्थापना गरेको कम्पनी भएकोले पनि धेरै नेपालीहरुले यो अवसर प्राप्त गरुन भन्ने हामी चाहन्छौँ ।’ सायद यहि कारणले सगूनले मिनी आइपीओ मार्फत विक्री गरिरहेको यसको शेयरको बारेमा नेपाली समुदायलाई लक्षित गरेर जानकारी र प्रचारप्रसार गरिरहेको पाइएको छ।
सगूनको वेभ साइट अनुसार हालसम्म तीन हजार भन्दा बढी लगानीकर्ताहरुबाट २८ लाख अमेरिकी डलर लगानी उठाइसकेको छ । यो लगानीमा नेपाली बाहेकको समुदायको कति धेरै हिस्सा छ भन्ने विषयमा अझै प्रष्ट भइसकेको छैन । तर विश्वभरि रहेका नेपालीहरुको बिचमा भने सगूनले पक्कै पनि एउटा नयाँ हलचल ल्याएको छ । त्यसैको नतिजा नै हुनसक्छ, सिटौलाका अनुसार सगूनमा लगानी गर्नेहरुमा नेपालीहरुको संख्या ठूलो छ र त्यो विश्वभरिबाट भएको छ।
विश्वभरबाट लगानी गर्ने नेपालीहरुले किन लगानी गरे त सगूनमा?के कुराले उनीहरुलाई सगून प्रति आकर्षित ग¥यो ?यस विषयमा जानकारी लिन हामीले विश्वका विभिन्न देशमा रहि सगूनमा लगानी गर्ने नेपालीहरुलाइ सोधेका थियौ । केहि प्रतिनिधि पात्रकोरुपमा उनीहरुको भनाइको सम्पादित अंश यहाँ प्रकाशन गरेका छौँ।
याम श्रेष्ठ, द.कोरिया
पहिलो कुरो त यसको नामै मन परेको हो । हाम्रो बोलिचालिको भाषामा सगूनलाई शुभ साइतकोरुपमा लिइन्छ । नेपालीको लागि यो सगून नै हुनसक्नेछ भन्ने लाग्छ। इन्टरनेटको माध्यमबाट एक मुठिमा बाँधिएको संसारलाई सामाजिक सञ्जालले यसका हरेक मान्छेलाई एउटै हत्केलामा ल्याइदिएको छ। सामाजिक सञ्जालको यो महत्वलाई बुझेर नेपालीले स्थापना गरेको सगूनले म जस्ता नेपालीले गर्व गर्न पाएका छौँ । विश्व बजारमा हाम्रो पनि सहभागिता र पहुँच पुगेको महशुस गरेर लगानी गरेको छु । आशा छ सगूनले भनेजस्तै आर्थिक सम्बृद्धि र नेपालीको परिचय बढाउने छ।
डा. जगदिश तिम्सिना, सिड्नी, अष्ट्रेलिया
इन्फर्मेशन एण्ड कम्यूनिकेशन टेक्नोलोजिमा आधारित सगून सूचना प्रविधिसंग सम्वन्धित नेपालीले स्थापना तथा व्यवस्थापन गरेको हो । निकट भविष्यमा अन्तराष्ट्रिय शेयर बजारमा राम्रो स्थान ओगट्ने सम्भावना बोकेको सगूनसंग इनोभेशन र नोभल्टी छ भन्ने मैले महशुस गरेको छु । मैले सगूनमा गरेको सानो लगानीले सगून, यसका संस्थापक र टिमले बोकेको सपना पुरा गर्न केहि हदसम्म भने पनि सहयोग पुग्नेछ र विश्वभर रहेका नेपालीहरुको जीबनमा ठूलो आर्थिक परिवर्तन ल्याउन सक्छ भन्ने आशा लिएको छ।
डा. भुवन ढकाल, नैरोवि, केन्या
सगून नेपालीहरुको क्षमता हो भन्ने लागेर यसमा लगानी गरेँ । हामी सबै नेपालीहरुमात्रै पनि मिल्यौँ भने गुगल जस्ता आजका ठूला कम्पनीहरु जस्तै बन्न सक्छौँ । म र मेरो परिवार सगून अभियानको एउटा अंश पाएकोमा गर्व लागेको छ।
सरोज प्रजापती, अमेरिका
नेपालीहरुले शुरु गरेको आइटी क्षेत्रको नयाँ यात्रा हो सगून । यस्ता प्रकारका नया यात्राको शुरुमा आफ्नै समूहको साथ र सहयोग आवश्यक पर्छ, जुन विश्वभरबाट आइरहेको छ । यस यात्रामा सहभागिता जनाउँन पाउनु मेरो लागि गर्वको विषय हो । सगूनमा लगानी गर्ने इच्छा राख्नु भएको छ भने, यो अवसरलाई नगुमाउनुहोस् ता कि भविष्यमा सगूनले प्रदान गर्नसक्ने आर्थिक प्रतिफल पनि प्राप्त गर्न सक्नुहुन्छ।
प्रभाकर पौडेल, डेनमार्क
रविन्द्र मिश्रले सगूनको कार्यक्रममा बोलेको सुनेर म सगून प्रति प्रभावित भएँ । सामाजिक सेवामा रमाउने भएकोले सगूनले सामाजिक र आर्थिक दुवैरुपमा हामीलाई माथि उठाउँछ भन्ने विश्वास लागेर र यसको भविष्य सुन्दर देखेर लगानी गरेको हो।
अर्जुन पोखरेल, जापान
आइटी क्षेत्रमा काम गर्नेको लागि धेरै सम्भवना छ जुन सगूनले शुरु ग-यो । हाम्रो सानो लगानीबाट पनि ठूलो प्रतिफल आउन सक्छ र यो कम्पनी मार्फत नेपाल र नेपालीहरुको परिचय संसारभर फैलिन सक्छ भन्ने ठानेर सगूनमा लगानी गरेँ।
रामचन्द्र श्रेष्ठ, मकाव
मलाई महावीर पुनको आह्वानले सगूनमा लगानी गर्न मन लाग्यो । वहाँ जस्तो व्यक्तिले सगूनको बारेमा राम्रो देखेर नै आह्वान गर्नु भएको हो भन्ने मलाई लागेको छ।
सञ्जय तिमिल्सिना, चिन
म आफैँ आइटीसंग सम्वन्धित छु । यस्ता कम्पनीमा लगानी गर्ने सोच पहिला देखि नै थियो । नेपालीले नै शुरु गरेको भएकोले पनि यसमा लगानी गर्न प्रेरित भएँ । अबको युग सोसीयल नेटवर्कको हो र सगून मार्फत यो युगमा सहभागी हुन लगानी गरेँ।
रमेश पौडेल, ब्रिस्बेन, अष्ट्रेलिया
केहि महिना अघि युट्युवमा सगूनका संस्थापक गोविन्द गिरीको अन्तर्वाता हेर्ने मौका पाएँ र यसको विषयमा थप सोधखोज गर्न थालेँ। सगूनको सबै भन्दा राम्रो कुरो कनेक्ट–शेयर–अर्न नै हो मेरो लागि र यसको उज्ज्वल भविष्य देखेर यसमा लगानी गरेँ।
डा. कृष्णहरि गौतम, क्यानडा
नेपालीको साहसिक कामलाई खुट्टा तान्ने होइन, हात दिनु पर्छ र साथ छोड्नु हुन्न । मैले पनि सगूनका संस्थापकहरुले शुरु गरेको यो साहसमा आँट बढाउन एक्यवद्धता जनाउन लगानी गरेको हुँ । मलाई लाग्छ सगून, त्यो धागो बन्दैछ, जसले नेपाल बाहिरै बसेर पनि विश्वभरि छरिएर रहेका फूलरुपी नेपालीहरुलाई आर्थिक सम्पन्नताको एउटै मालामा गाँस्नेछ।
गोपाल चापागाइँ, युएई
सगून त मेरो मुटुको धडकन हो । मलाई यो कुरोले लगानी गर्न मन लाग्यो भन्ने नै छैन । यसका जम्मै कुराले मलाई तान्यो । त्यसैले मैले सगूनको बारेमा आफैले एउटा भिडियो मेरो फेसबुक पेजमा राखेको छु । मेरा सबै साथिहरुलाई त्यहिंबाट सगूनको सन्देश बांडिरहेको छु । सगून सफल हुने कुरामा म ढुक्क छु।
राजेन्द्र कंडेल, बेलायत
खेर जाने कुपनलाई प्रयोग गर्न सकिने सोसीयल स्मार्ट कार्डको अवधारणा विशेष छ । प्रयोगकर्ताले समेत रकम पाउने कुरोले सबैलाई आकषिर्त गर्ने छ । यिनै कुराहरु विशेष मन परेर लगानी गरेको हो।
नविन चापागाई, इटाली
सगूनमा लगानी गर्न पाएकोमा साह्रै खूशी छु। स्टार्टअप कम्पनीमा लगानी गर्न पाउनु यो अवसर हो र यो मौका जुटाइदिएकोमा सगूनलाई धन्यवाद।
बेगमान राई, फ्रान्स
सगून भन्दा अगाडि यस्तो स्टार्ट अप कम्पनीमा लगानी गर्ने मौका नै पाएको थिइन । अहिले पाँए, लगानी गरेँ । म त खुशि छु।
सञ्जय भण्डारी, फिनल्याण्ड
म नेपालमा हुंदा पनि स्टकमा लगानी गर्थेँ । सगूनको कन्सेप्ट धेरै मन परेको छ । कम्पनीका फाउण्डरबाट पनि धेरै जानकारी पाएँ । यसले सफलता प्राप्त गर्न सक्छ भन्ने विश्वासले लगानी गरेँ।
सुनिल कुमार पुन, बेलायत
धेरै मानिस तुरुन्त आम्दानी हुेन ठाउँमा मात्र लगानी गर्न रुचाउँछन् । तर दीर्घकालिन फाइदा हुने ठाउँमा जोखिम मोलेर लगानी गर्न डराउन हुंदैन भन्ने मलाई लाग्छ र लगानी गरेँ । जहाँ जोखिमको सम्भावना हुन्छ, आम्दानीको सम्भावना पनि त्यहिँ बढी हुन्छ। (सगूनसम्वन्धी जानकारीकाे लागि www.sagoon.com/invest)
Source:dcnepal.com