राजु गिरी प्रोडक्शन र सोनी फिल्मस् को संयुक्त प्रस्तुतीमा ‘ देश-परदेश ‘ नामक चलचित्र बन्ने भएको छ । स्वदेशको दुखलाई सम्झेर विदेशमा सुख पाउने आशाले गएका नेपाली दाजुभाईहरुको पिडा र त्यहाँ हुने विभिन्न परिवेशलाई समेटेर चलचित्र बनाउन लागिएको निर्देशक राजु गिरीले जानकारी गराएका छन् । चलचित्रमा प्रेम सोनी, सारिका के.सी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारहरुको अभिनय रहनेछ । करिब एक दशक आगाडी ‘ देश-परदेश ‘ नामक चलचित्र निर्माण भएर सफलता पनि हांसिल गरेको थियो, अब सोहि नाम सापटी लिएर निर्देशक राजु गिरीले चलचित्र निर्देशन गर्ने भएका हुन् ।
चलचित्रको संगितमा अर्जुन पोखरेल, द्धन्दमा रोशन श्रेष्ठ, क्यामेरामा रामेश्वर हुमागाईं र पटकथा तथा संवादमा भोजराज देवकोटाले साथ दिंदै छन् भने प्रेम सोनी सुनारको कथा रहेको चलचित्र देश परदेशका निर्माता पनि स्वयम् प्रेम नै रहेका छन । प्रेमलाई चलचित्र निर्माण मा कमल सुनार र सिता बि.क. ले सघाउने भएका छन् । असार १५ गतेबाट स्याङजाको मिर्मीबाट चलचित्र ‘ देश-परदेश ‘को छायंकन शुरु भएको जानकारी निर्देशक गिरीले गराएका छन् ।