विवेक कुमार शाह लिखित पुस्तक मैले देखेको दरबारमाथि आधारित रहेर तत्कालिन राजा दीपेन्द्रमाथि सिनेमा दीपेन्द्र सरकार बन्ने भएको छ । प्रेमगीत र चंखे शंखे पंखे निर्माण गरेर आफूलाई स्थापित गरेको आशुसेन प्रोडक्सनले नेपाली इतिहासको यो ऐतिहासिक घटना र पात्रमाथि सिनेमा बनाउन लागेको हो । सिनेमा रिलिज पनि जेठ १९, २०७५ मा रिलिज हुनेछ । जेठ १९ लाई कालो दिनको रुपमा अहिले पनि स्मरण गर्ने गरिन्छ ।
प्रदीप खड्काले दीपेन्द्रको भूमिकामा अभिनय गर्दैछन् । ५ करोड ५० लाख रुपैयाँ बजेट बताइएको यो मेगाप्रोजेक्टका निर्देशक केही समयपछि सार्वजनिक गरिने भएको छ । नेपाल, बेलायत र अमेरिकामा छायांकन गरिने सिनेमाको छायांकन भव्य सेट खडा गरेर गरिने निर्माता सेनले बताए । बायोपिक जानरामा राखिएको यो सिनेमालाई दुई फम्र्याटमा तयार गरिनेछ । फेस्टिभलका लागि डेढघन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टा लामो सिनेमा तयार गरिने भएको छ ।
दीपेन्द्र शाह नेपाली राजनीतिका एक यस्ता पात्र हुन् जो सम्भवतः विश्वमै छोटो समयका लागि राजा भए । १३ औं राजाको रुपमा अर्धमृत अवस्थामा उनलाई राजा घोषित गरियो र दरबार हत्याकाण्डको तेस्रो दिनमै उनलाई मृत घोषणा गरियो । राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्र अविवाहित अवस्थामै (३ जुन २००१, २९ वर्षमा) दिवंगत भए ।
२१ जुन १९७१ मा नारायणहिटी दरबारमा उनको जन्म भयो । शाहवंशका यी पात्रलाई लिएर इतिहासमा धेरै लेख लेखिए र पढिए । उनका निकटवर्ती अहिले पनि उनका मित्रता र अन्तरंग क्षणलाई सम्झिएर भावुक बन्छन् । विवेक कुमार शाह लिखित पुस्तक मैले देखेको दरबारमा दीपेन्द्र र दरबारसँग सम्बन्धित धेरै तथ्य उल्लेख छन् । यो चर्चित पुस्तकमाथि देशी तथा विदेशी संचारमाध्यमले समाचार बनाए ।
सन्तोष सेन निर्माता रहेको सिनेमाले नेपाली इतिहासलाई प्रतिविम्वित गर्दै घटनामाथि तटस्थ ढंगले कथा वाचन गर्ने जनाइएको छ । यही सिनेमाका लागि फिल्म निर्माताले उक्त पुस्तकको कपिराइट समेत गरिद गरेको छ । अभिनेता प्रदीप खड्काले आफूलाई दीपेन्द्रको स्वरुपमा बदल्न तौल बढाउनेदेखि लिएर अनुसन्धानमा आफूलाई होम्ने तयारी गरिरहेका छन् ।
निर्देशक, प्राविधिक युनिट र बाँकी कलाकार निकट भविष्यमै सार्वजनिक गरिने निर्माता सेनले बताए । दीपेन्द्र सरकारजस्तो यस्तो ऐतिहासिक सिनेमा बनाउन जमर्को कसेको आशुसेन फिल्मसद्धारा निर्मित सिनेमा प्रेमगीत २ साउन १३ गते रिलिज हुँदैछ । प्रेमगीत २ मा पनि मानवीय मूल्य, भावना र सामाजिक मुद्दाहरुको उठान गरिएको छ । अघिल्ला दुई फिल्म प्रेमगीत र चंखे शंखे पंखेले जसरी नेपाली सिनेमाको बजार र कथा भन्ने शैलीमा परिवर्तन ल्याए, उसैगरि दीपेन्द्र सरकारले नेपाली सिनेमाको ब्रान्ड, न्यारेटिभ र शैलीलाई उचाइमा लैजाने आशा आशुसेन फिल्मसले लिएको छ ।