भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गत राति रामपुरबाट पक्राउ गरेको जनाएको छ । नेकपाका नेतासमेत रहेका कँडेल यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।
गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार लगायतका संरचना केही व्यक्तिले भत्काइदिएका हुन । उनीहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् । स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो ।