प्रकाश चन्द्र लोहनीले आफ्नो नेतृत्वमा हिन्दु राष्ट्रिय पहिचान र राजसंस्था स्थापनाको मुल लक्ष सहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी ) पार्टी घोषणा गरेका छन्। केही समय अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाहिरिएका लोहनीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टीको घोषणा गरेका हुन्। नयाँ पार्टीको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लोहनीले राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई सम्मुन्नत दिशा तर्फ अग्रसर बनाउनका लागि आफूले नयाँ पार्टी घोषणा गरेको दाबी गरे।
पार्टी घोषणा कार्यक्रममा लोहनीले नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोग ,बढ्दो बेरोजगारी र आर्थिक सिथिलताप्रति सरकार संवेदनशिल बन्न नसक्दा सबै समस्याको समाधानका लागि कटिबद्ध जनताप्रति इमान्दार दलको खोजीमा जनता रहेको उल्लेख गर्दै ती सब समस्या समाधानका लागि आफूले नयाँ राजनीतिक दलको सुरू गरेको स्पष्ट पारे। पत्रकार सम्मेलनमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले संबैधानिक राजसंस्थाको वकालत गर्दै दलीय जमिन्दारी संस्कारबाट मुक्त समाज निर्माणका लागि भन्दै अपनाईने ७ बुँदे रणनीति सहितको घोषणापत्र पनि जारी गरेको छ। २० बुँदे घोषणापत्रमा संबैधानिक राजसंस्था नेपालको एकता र नेपालीहरु बीच सद्भाव राख्न आवश्यक रहेको निष्कर्ष सहित त्यसको कार्यान्वयनलाई मुल लक्ष बनाईएको छ । त्यसैगरी पूर्ण धार्मिक स्वतन्त्रता सहित धर्म सापेक्ष सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको पनि घोषणा पत्रमा उल्लेख छ । केही समय पहिले कमल थापा नेतृत्वको राप्रपासँग विद्रोह गरेका नेता प्रकाशचन्द्र लोहनीको अध्यक्षमा बनेको पार्टीमा वरिष्ठ राजनीतिज्ञ केशरबहादुर विष्टदेखि पञ्चायतकालीन पृष्ठभूमिका नेताहरुको सहभागिता रहेको छ । पार्टीको विधानमा १७५ जना केन्द्रीय सदस्य बनाउने रहने व्यवस्था गरिए पनि अहिले ७१ जनाको हस्ताक्षर प्रस्तुत गरेको र बाँकी केन्द्रीय सदस्य पछि थप्दै गइने सो पार्टीका नेता श्याम तिमल्सिनाले जानकारी दिए। केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तरसमेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो । नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेको छ भने पार्टीको चुनाव चिन्ह हलो राखिने समझदारी भएको छ । लोहनीले गत फागुन २९ गते कमल थापाले एजेण्डालाई सत्तामा जाने भर्याङ बनाएको, पार्टीमा मनपरि गरेको, हलो चुनाव चिन्ह त्यागेकोलगायतका १० बुँदे आरोप लगाई परित्याग गरेका थिए।