चितवन जिल्ला अदालतले आत्महत्या दुरूत्साहन मुद्दा खेपेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सहित उक्त मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो।न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।
अदालतले सफाइ दिएपछि पत्रकारहरूसँग लामिछानेले भने, ‘अदालतबाट जुन फैसला भएको छ, न्याय मरेको रहेनछ भन्ने दृष्टान्त देखाएको छ।’ उनले आफूहरूका लागि न्याय माग्ने क्रममा भएको आन्दोलनमा मानिसहरू घाइतेसमेत भएको र सुरक्षाकर्मीले दु:ख पाएको पनि उल्लेख गरे।
‘मैले यति धेरै साथ र समर्थन पाउँछु भन्ने लागेको थिएन,’ उनले भने, ‘कति मानिस अझै घाइते हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।’
लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र प्रतिवादी अस्मिता कार्कीलाई पनि अदालतले सफाइ दिएको छ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनै जनालाई मुद्दा लगाएको थियो।
लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।