Blog Social

अमेरिकी मूलधारमा छलाङ्ग मार्दै नेपाली अमेरिकीहरु

 शैलेश श्रेष्ठ, सम्प्रेषण, न्युजर्सी

बीसौं बर्ष अमेरिका बसेर पनि हामी आफ्नै साँघुरो अझ दलगत “कम्फर्ट जोन” बाट पटक्कै बाहिर निस्कने साहास गर्दैनौं | हामीमा त्यस्तो चाहना नभएको हो कि साहास नभएको हो यकिन गर्न गाह्रो छ | हाम्रा मान्छेलाई कुनै नयाँ खेती गरेर फसल भित्र्याउँने भन्दा पनि उता गरेको कामको ब्याज खाएर बाँच्ने बानी परेको छ | उनीहरुमा उताको माउ पार्टीको आदेश र परिपत्रमा भात्री संगठन खोल्ने र संगठन बिस्तार गर्ने अजबको नशा लागेको छ तर यताको समाज अनि राजनीतिमा उनीहरुको चाख अनि रुची पटक्कै छैन  |

                          “एक्सीलेन्स अवार्ड” द्वारा सम्मानित व्यक्तिव एच.बी. (ह्यारी) भण्डारी |

ज्यान मात्र यता तर राजनैतिक महत्वाकाँक्षा सपना जपना उताकै हुन्छ | बझाङ्ग, बाजुरा अथवा डडेलधुरा क्याम्पसमा ने.बि.संघले जितेको खबर दशकौं अमेरिका बसिसक्दा पनि उच्च प्राथमिकतामा पर्छ अनि ईलाम, पाँचथर र भोजपुरमा अखिलको वर्चश्व भएको खबर उनिहरुकालागि अरुलाई सुनाएर आनद र तुष्टी लिने गरम मसला बन्दछ |

आप्रवासी नेपालीहरुको बाक्लो आवादी र बस्ति रहेको सार्वजनिक चौक, डबली, मोहल्ला अनि चिया पसलमा तिनको त्यहि गफमा जी हजुर भन्ने तिनका आसेपासेहरुकालागि ब्रेकिङ्ग न्युज बन्छ | हाम्रा मान्छेहरु त्यस्तै खाले एक्काईसौं शताब्दीको आधुनिक अनि मानसिक दासताबाट आफ्नै रोजाईले पिडित र प्रताडित भएका छन |

 
सामाजिक संजाल संगीन अनि रंगीन बन्छ, “रुखमा भोट”, “सुर्यमा भोट”, “हँसिया हतौडामा भोट” अनि “गाईमा भोट” को रस्साकस्सीसंगै पारो चढ्छ अनि रक्तचाप बढ्छ तर हरेक पल, हरेक क्षण आफ्नो जीवन र भविष्यसंग सम्बन्ध र सरोकार राख्ने यताकै समाज अनि राजनीति अर्थात “हात्ती” र “गधा” चिन्ह त तिनका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात हुन्छ | दशकौं यता बसिसक्दा पनि तिनीहरु कर्मभुमी अमेरिकाको पाहुना बन्दछन यताको मुलधारको क्रियाकलापमा लाग्नु पर्छ भन्यो भने “छु मतलब पैसा कमाउने हो अनि नेपाल फर्कने हो” को हेपाहा शैलीमा अमेरिकी समाज र राजनीतिलाई तिरस्कार गर्छन तर बिडम्बना पत्याउनेले पत्याई दिने हो भने तिनै भुरेटाकुरे कार्यकर्ताहरु नेपालको गठबन्धन सरकार यतैबाट चलाएको स्व-घोषणा गरिदिन्छन | 


तर यहि कर्मकाण्डी पुरातानिक प्रवासी नेपाली समाजमै केहि आशलाग्दा भरोशा योग्य पात्रहरु पनि छन जसलाई स्मरण गर्दै तिनको नाम उद्घोष गर्दा मात्र पनि हामी गर्बले सग्लो र अग्लो उभिन सक्छौं | गर्विला त्यस्ता नामहरु मध्य अहिले प्रवासी नेपाली समाजमा सर्वाधिक चर्चाको शिखरमा छन मेरील्याण्डका एच.बी (ह्यारी) भण्डारी र आयोवाकि सन्जिता श्रेष्ठ प्रधान | डेमोक्रेटिक पार्टीका उदयमान नक्षत्र तथा मेरील्याण्ड काउन्टी हाउस अफ डेलिगेट्सका पुर्व उम्मेदवार ह्यारी भण्डारी यहि मे महिनाको नौ तारिख “एसियन अमेरिकन एक्सीलेन्स एवार्ड” बाट सम्मानित भएका छन भने अर्को दिन मे १० तारिख पुर्व राष्ट्रपति बराक ओबामाका पुर्व सल्लाहकार सन्जिता श्रेष्ठ प्रधान “डिभर्सिटी च्याम्पियन एवार्ड” बाट विभूषित भएकी छिन | 

                       अमेरिकी राष्ट्रपतिका पुर्व सल्लाहकार तथा सम्मानित व्यक्तित्व सन्जिता श्रेष्ठ प्रधान


एच.बी. भण्डारीलाई एसियन हेरिटेज मन्थको अवसरमा बाल्टिमोर काउन्टीले र सन्जिता श्रेष्ठ प्रधानलाई देम्वा युनिभरसिटीको बहुसांस्कृतिक बिभागले सम्मानित गरेको हो | भण्डारीले आफ्नो अमेरिकी मुलधारको सामाजिक अनि राजनैतिक जीवन बाल्टिमोर काउन्टीको शिक्षा र बाटोघाटोको सामुदायिक संलग्नता र बिकासबाट आरम्भ गरेर डेमोक्रेटिक पार्टीको तरुण शाखामा सक्रियता कायम गरेका छन भने श्रेष्ठ प्रधान आयोवा राज्यको गैरसरकारी संस्था मार्फत डिभर्सिटी र समावेशितामा अधिकारकर्मी बिशेषज्ञका रुपमा नेपाली भाषी समुदायको सेवामा समर्पित छिन | त्यहि उनको अनुपम बिशेषज्ञतालाई उच्च मुल्यांकन गर्दै पुर्व राष्ट्रपति बराक ओबामाले उनलाई एसियन अमेरिकन पेसेफिक आईल्याण्डरहरुको समावेसी प्रतिनिधित्व गर्ने हैसियतमा राष्ट्रपतिको सल्लाहकार समितिमा मनोनित गरेका थिए |  

 
नेपालीहरुको अमेरिकी आप्रवासनको ईतिहास त्यति लामो छैन | सन १९५० को दशकमा छिटफुटरुपमा आरम्भ भएपनि आम सर्वसाधारण नेपालीहरुको अमेरिका प्रवेसको आरम्भ नब्बेको दशकमा मात्र भएको हो | त्यो यथार्थ परिघटनालाई आधार मान्ने हो भने हामीले हाम्रो परिचय या पहिचान उत्साहप्रद किसिमले नै अघि बढाएका छौं तर यता सुतेर उताको सपना देख्ने पुरातानिक जर्जर रोग अनि उताकै दलगत राजनीतिमा निर्लिप्त रमाउने आदतले हामीले सक्ने जति पनि प्रगती हाँसिल गरेका चाँही छैनौ | ढिलै भए पनि रोजर अधिकारी, दर्शन रौनियारहरुले परिकल्पना गरेको मुलधारको राजनैतिक सहभागिता, परिचय र पहिचानको पदचाप पछिल्लो समयमा आएर हरि के. शर्मा, एच.बी. भण्डारी, अमृता रेग्मी, जीवन तिवारी, किरण सिटौला र मदलशा (जेसिका) गुरुङहरुले अनवरतरुपमा अघि बढाईरहेका छन |

Advertisement