Blog Social

जननी …

977online

आफनो जन्म दिने आमाको माया नगर्ने संसारमा कोही पनि छैंन् । मातृवात्सल्यले ओतप्रोत भएका वालकहरुको भविष्य राम्रो हुने विभिन्न अध्ययनहरुले देखाएको छ । त्यसैले आमाले आफना छोराछोरीलाई स्याहारसुसार देखि भाषा र सभ्यतालाई सिकाउँदै जीवनको गोरेटो निर्माणको लागि सहयोग गर्दै आएकी हुन्छिन् । आमालाई स्मरण गर्ने र सम्मानको लागि पहल गर्ने नेपाली हिन्दूहरुको एक चाड मध्ये आज परेको मातातीर्थ औसी पनि महत्वपूर्ण रहेको छ । त्यसमाथि यो चाडमा आमाको मुख हेरिने भएकाले वालक देखि वृद्ध सम्मकाले आफनो क्षमता अनुसारको उपहार,फलफूल कपडा दिएर आमालाई सम्मान गर्ने चलन रहेको छ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार औँसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

977online

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा महत्वपूर्ण छ’ गौतमले भने ।
हरेक घरमा आफनी आमालाई छोराछोरीहरुले भेटघाट गरेर र दुख सुखका कुरा गरेर यो पर्वलाई मनाउँदै आएका छन् । पहिला टाढा रहेकाहरुले आफनी आमालाई मुश्लिकले टेलिफोन गरेर यस पर्वलाई महत्व दिन्थे भने प्रविधीको विकाशसँगै आफनी आमालाई ईसेवा मार्फत उपहार घरमा पुरयाउने चलन छ ।

विस्वका बिभिन्न देशमा रहेका नेपालीहरु भने अहिले अनलाईन मार्फत आफ्नो आमासंग भिडियोमा कुराकानी गर्ने प्रवृत्ति निकै चलेको छ । वास्तवमा यो चाडले आफूलाई जन्म दिने आमालाई सम्झना गर्ने मात्र होईन आमा र सन्तान वीचको सम्वन्धलाई पनि उत्तिकै नजिक वनाएको छ ।

Advertisement