Blog Entertainment Music

‘पोहोर साल खुशी फाट्दा…’

977online

गीतकार राजेन्द्र थापाको सम्झनामा अरुणा लामा

स्वर साम्राज्ञी अरुणा लामा जीवित भएको भए आजबाट ७१ वर्ष लाग्थिन् । दार्जिलिङमा ००२ साल भदौ २४ गते जन्मिएकी उनको ०५४ साल माघमा निधन भएको थियो ।

०१६ सालमा पहिलो गीत ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ रेकर्ड गराएकी अरुणाले गायन यात्रामा थुप्रै चर्चित गीत दिएकी छिन् । जसमध्ये ‘पोहोर साल खुशी फाट्दा’ गीत उनको खास चिनारी नै बनेर रहेको छ । जुन गीत लेखेका थिए राजेन्द्र थापाले ।

‘पोहोर साल’ गाएपछि अरुणा अझ चर्चाको शिखरमा पुगे पनि त्यो गीत सुरुमा उनले गाउने कुरै नभएको थापा सम्झन्छन् । ‘त्यो गीत त अम्बर गुरुङको संगीतमा नारायण गोपालले गाउने कुरा थियो । तर, म विदेशमा केही महिना बसेर र्फकँदा त अरुणाको आवाजमा रेकर्ड भएको गीत यहाँ निकै चर्चित भइसकेछ,’ उनले भने ।977online

गीत त अम्बर गुरुङको संगीतमा नारायण गोपालले गाउने कुरा थियो । तर, म केही महिना विदेश बसेर फर्कादा त अरुणा दिदीको आवाजमा रेकर्ड भएको निकै चर्चित भइसकेछ

यो गीत थापाले ०३३ सालमा लेखेका थिए, जतिबेला उनी मात्र २३ वर्षका थिए । पोखरामा संगीतकार अम्बर गुरुङसँग उनको पहिलो भेट भएको थियो । राजाको सवारीका लागि तत्कालील नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट गुरुङसहितको टोली त्यहाँ पुगेको रहेछ । थापा त्यतिबेला सेनाका कप्तान थिए र सवारीकै लागि खटिएका थिए । उनले सम्झिए, ‘अम्बरले मेरा कविता र गीतहरू निकै मन पर्ने कुरा गर्नुभो । गीतमा कविता हाल्ने मान्छे कमै हुन्छन् भनेर तारिफ गर्दै काठमाडौंमा भेटौँ भन्ने कुरा राख्नुभो ।’

काठमाडौंमा आएपछि भेट हुँदा अम्बरले गीत ल्याउनुपर्छ भनेर मागे उनीसँग । ‘उहाँले आफैं गीत माग्नुभो । नत्र त्यत्रो ठूलो संगीतकारलाई मेरो गीत गाइदिनुस् भनेर दिने आँटै थिएन,’ गीतकार थापाले सुनाए ।

केही महिना बितेपछि उनले अम्बरलाई ‘पोहोर साल’ गीत दिए । त्यतिबेला अम्बर र नारायण गोपाल सँगै थिए । हरिभक्त कटुवालले लेखेको ‘पोखिएर घामको झुल्का’ गीतको रेकर्डिङ सकेर दुवै जना रेडियो नेपालको गेटबाट निस्किँदै गर्दा उनले भेटेका थिए । गीत दिँदा दुवै सँगै भएकाले होला, नारायण गोपालले गाउने कुरा भएछ । यसबारे पछि अम्बरले थापालाई खबर गरेका थिए ।

गीत ०३३ सालमा दिए पनि त्यसको दुई वर्षपछि मात्र रेकर्ड भयो ।

थापा तालिमका लागि केही महिना विदेश गएको बेला नै गीत रेकर्ड भएर बज्न थालिसकेछ । राम्रो चर्चा पनि पाएछ । तर, गीतमा नारायण गोपालको नभई अरुणा लामाको स्वर थियो । ‘अम्बरसँग पछि कुरा हुँदा अरुणाले गीत हेरेर मैं गाउँछु भनेर हत्ते गरेको कुरा थाहा पाएँ । दिनदिनै भेटेर मैं गाउँछु भन्दै हत्ते गरेपछि उनकै स्वरमा रेकर्ड भएछ,’ उनले विगतको पाना पल्टाए ।

समय क्रममा अम्बर र नारायण गोपालबीचमा फाटो आउनुमा अरु धेरै कारणमध्ये यस प्रकरणले पनि भूमिका खेलेको थापा सम्झन्छन् । आफूले गाउने पक्का भएको गीत अरुणालाई दिँदा र पछि चर्चित बन्दा नारायणको मन कुँढिएको चर्चा उनले सुनेका थिए ।

अरुणाको ०२० सालमा गीतकार/संगीतकार शरण प्रधानसँग विवाह भएको थियो । बिहेपछि यो जोडीले दार्जिलिङमै एक स्कूलमा पढाउँदै जीवन्त संगीत सिर्जना पनि गर्दैर् थियो । तर, ख्याति पाइरहेको बेला ०३१ साल बैशाखमा शरणको निधन भयो ।

अरुणाको संगीतयात्रामा हारमोनियमको पर्दा उप्किए झैं भयो । दुई बच्चाहरुको हेरचाहमै उनी खुम्चिएकी जस्ती भइन् ।

त्यस्तो बेला ०३३ सालमा आएको ‘पोहोर साल खुसी फाट्दा’ गीतको लोकपि्रयताले उनलाई धेरै माथि उठायो । त्यो गीत सुन्नेहरूले आफ्नै जीवनका पीडा र भक्कानाहरूसँग एकाकार गरेर झन्-झन् मन पराउँदै गए ।

गीतकार थापाले गीत आएको डेढ वर्षपछि मात्रै अरुणासँग भेट्ने मौका पाए । त्यतिबेला खेलकुद परिषद्का सदस्य सचिव शरच्चन्द्र शाहको अगुवाइमा अरुणाको पहिलो संगीत साँझ काठमाडौंमा हुने तयारी थियो । संयोजन गर्ने जिम्मा गोपाल योञ्जनले पाएका थिए । त्यसका लागि अरुणा काठमाडौं आउँदा दशरथ रंगशाला नजिकै थापाले पहिलो पटक भेटे ।

राजेन्द्र थापा

राजेन्द्र थापा

‘नमस्ते दिदी, म राजेन्द्र थापा ।’

‘ए, नमस्ते,’ यति मात्र जवाफ आयो ।

‘म गीतकार राजेन्द्र थापा,’ अलिक जोड दिएर भने ।

‘ए हजुर,’ अरुणाले टाउको हल्लाइन् ।

‘दिदी, म पोहोर साल खुशी फाट्दा गीत लेख्ने मान्छे,’ उनले अब भने विस्तृतमै खुलाए ।

बल्ल अरुणा चकित परिन् । भर्खरको कलकलाउँदो ठिटो ‘पोहोर साल गीत लेख्ने मैं हुँ’ भनेर आउँदा सुरुमा त उनले पत्याइनन् । ‘भाइ त कलिलै हुनुहुँदो रै’छ, यस्तो गीत लेख्ने मान्छे त हरिभक्त कटुवाल जस्तै अलि बुढो टाइपको होला भन्ने सोचेथेँ,’ अरुणाको यस्तो प्रतिक्रिया थियो ।

समय क्रममा अरुणा र उनीबीच दिदी-भाइकै अटुट साइनो बन्न पुग्यो । थापाका आधा दर्जन जति गीतमा उनले स्वर दिएकी छिन् । तिनमा दीपक जंगम, मणिकमल क्षेत्री, वसन्त क्षेत्री, दिल श्रेष्ठ, न्ह्यू बज्राचार्यले संगीत दिएका छन् । कस्तो भने, रेकर्डिङ भएकामध्ये अरुणाको अन्तिम गीत बन्न पुगेको ‘यो मन त तलाउ हो’ थापाले नै लेखेका हुन् । उनैले लेखेको ‘साइत’ फिल्मको गीत फिल्ममा गाएको अरुणाको अन्तिम गीत हो ।

अरुणालाई भने थापाले लेखेको र योगेश वैद्यले गाएको ‘पर लैजाऊ फूलहरू’ बोलको गीत अधिक मन पथ्र्यो रे । पति शरणसँगको सन्दर्भ जोडेर हेर्दै उनले यो गीत मन पर्ने भनेर बारम्बार भनिरहन्थिन् ।

source: onlinekhabar

Advertisement