काठमाडौं । डा. गोविन्द केसीको १६ औँ सत्याग्रहलाई सरकारले पूर्ण वेवास्ता गरेपछि देशभर आन्दोलन सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरुले सरकार विरुद्ध सडक तताई रहेका छन् । आज विवेकशील साझा पार्टीले पनि विरोध प्रदर्शन गरेको छ ।
कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, तरुण दल महिला संघ लगायतले पनि सरकार विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरु सबैले डा. गोविन्द केसीका पक्षमा नाराबाजी गर्दै सरकारको विरोध गरेका थिए ।
यस्तै डा. केसीका जायज माग पूरा गर्न दबाब दिने उदेश्यले नेपाल चिकित्सक संघले पनि आन्दोलन घोषणा गरेको छ । संघले डा. केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनसन सुरु गर्ने भएको छ ।
आज बसेको संघको आकस्मिक बैठकले केसीको जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने र त्यसपछि पनि माग पूरा नभएमा आकस्मिक बाहेकका सम्पूर्ण उपचार सेवा ठप्प पार्न बाध्य हुने निर्णय गरेको अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बतानुभयो ।
यसअघि चिकित्सक संघले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । संघले दिएको अल्टिमेटमका सम्बन्धमा सरकारले कुनै पनि कदम अगाडि नबढाएको भन्दै चिकित्सक संघले अब जस्तो सुकै मूल्य चूकाउन तयार रहेको चेतावनी दिएको हो ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले ७७ जिल्लामा विरोध प्रदर्श गर्ने निर्णय गरेको हो ।
आफ्नो विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको र डा. केसीको अनशनप्रति पूर्ण वेवास्ता गरकोले कांग्रेस देशभर सडकमा उत्रने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह गरेको छ । यस्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक अगुवाले अबको राष्ट्रिय सभा बैठकमा चिकित्सा शिक्षा विधेयक पेश हुँदा डा. केसीसँग सरकारले गरेको सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । तर सरकारले भने चिकित्शा शिक्षा विधेयक संसदको अंग भइसकेकाले अब त्यसमा केही गर्न नसकिने अडान यथावत राखेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमनत्री गिरिराजमणी पोखरेल, अनशनको औचित्य सकिएको बताउँदै डा. केसीलाई अनशन तोड्न आग्रह गर्नुहुन्छ ।
प्रतिनिधिसभाबाट पारित भएको चिकित्शा शिक्षा विधेयक भोलि राष्ट्रियसभाबाट पारित गर्ने तयारी छ । स्वीट्जरल्याण्डबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको असन्तुष्टि भन्दै डा. केसीलाई दिएको जवाफले पनि सरकार डा. केसीको अनशनलाई पूर्ण रुपमा वेवास्ता गरेर अघि बढिरहेको प्रष्ट छ । डा.केसीसँग गरेको सम्झौता पालना नगरेपछि प्रतिपक्षले गरिरहेको आन्दोलनका बीच चिकित्सकहरु उपचार सेवा ठप्प पार्ने सम्मको आन्दोलनमा उत्रेका छन् । सरकारले अब थप जटिल परिस्पथितिको श्रृजना हुन नदिन डा. केसीको अनशन आन्दोलनबारे गम्भीर बन्नैपर्छ ।